2022-08-26 07:30:53
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका ५१९ परिवारलाई स्वबासी जग्गाधनी पुर्जा वितरण ।
मध्यपुर थिमि, भाद्र १० गते २०७९
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ र ७ का स्थानीयलाई बिहिवार स्ववासी जग्गाधनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नगरपालिकाको पहलमा नापी कार्यालयले नाप जाँच गरी हाल साविक गरेर तयार गरिएको ५१९ थान जग्गाधनी पुर्जा नापी कार्यालयले नगरपालिकाको प्रांगणमा एक कार्यक्रमको आयोजिना गरि वितरण गरिएको हो । पुर्जा वितरण कार्यक्रम शुक्रवार पनि जारी रहने नगरपालिकाले जानकारी दिएको छ ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्पत्ति भए पनि सरकारी कागजी प्रमाण नहुँदा सुकुम्बासी जस्तै भइरहेका जग्गाधनीहरुले पुर्जा पाएपछि सम्पत्ति माथि भोकाधिकार कायम भएको बताउनुभयो । अव बाँकी वडाहरुको पनि पुर्जा वितरणलाई निरन्तरता दिँदैं जाने योजना रहेको बताउँदैं स्थानीयलाई पनि छिटो भन्दा छिटो जग्गाधनी पुर्जा प्राप्तिको लागि आवेदन दिन नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
नापी भएको एक दशक भन्दा बढी भएपनि जग्गाधनीले पुर्जा नपाएर अनेकौं समस्या भोग्नु परेको जनगुनासो बढेपछि नगरपालिकाको पहलमा पुर्जा वितरण गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । अहिले वडा नंं ५ र ७ का जग्गाधनीलाई पुर्जा वितरण गरिएको र आगामी एक वर्षभित्र नगरका सबै वडाका स्वबासी जग्गाधनीलाई पुर्जा वितरण गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।
सो सस्थानमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा मात्र वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले बताउनुभयो । २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापुर्व कालदेखी हकभोग गरी बसोबास गरिरहेको जग्गालाई स्वबासी जग्गाको रुपमा परिभाषा गरिएको नापी प्रमुख दत्तले बताउनुभयो । तत्कालिन अवस्थामा चेन प्रविधिले जग्गाको नापजाँच भएको र खुल्ला क्षेत्रमा नापजाँच भएता पनि घनाबस्ती भएको स्थानमा नापजाँच हुन नसक्दा स्थानीयले जग्गाधनी पुर्जा पाउन नसकेको बताउँनुभयो । उहाँले तत्कालिन ६ नं.नापी गोश्वरा कार्यालयले नापजाँच गरेको र नापी गोश्वारा कार्यालय खारेज भएसँगै नापी कार्यालयलाई बुझाएको कागजपत्रका आधारमा तयार गरिएका पुर्जाहरु मात्र वितरण गरिएको जानकारी दिनुभयो । मध्यपुर थिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखी २०७६ सम्म ८ वटा वडाको सिमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधीमा थप ८ वटा वडाको पुर्जा वितरण भएको पनि उहाँले बताउनुभयो ।











0 Comments