हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाण्डौ भाद्र १३ गते २०७९
सोमवार काठमाण्डौमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी उपत्यकामा पठाउन ढिलाइ गर्न नहुने बताउनुभयो । काठमाण्डौ उपत्यकका भित्रका ७ वटा महानगर तथा नगर प्रमुखहरूबीच नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा काठमाडौं उपत्यकाभित्रका खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण विषयक छलफल कार्यक्रम बोल्दै उहाँले भक्तपुरको मुख्य पानीको स्रोत नगरकोटलाई सरकारले जलाधार क्षेत्र घोषणा गरि त्यस क्षेत्रको सुरक्षा र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा खानेपानीका पाइपलाइनहरू निकै पुराना भइसकेको जानकारी गराउँदै ती पाइपहरू फेर्नुको विकल्प नरहेको र ढल तथा खानेपानीको पाइप एकै ठाउँमा राख्नु नहुने पनि बताउँनुभयो । मेलम्चीको पानी नआएसम्मको लागि भक्तपुरमा बोडेबाट आउने पानीको मात्रा बढाउनुपर्ने माग पनि गर्नुभयो । नगरकोटको महादेव पोखरीमा ड्याम बनाउने कुरा छिटो छरिटो ढंगले अगाडि बढाउनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले सिस्नेरी खानेपानी आयोजनालाई विकल्पको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालले खानेपानीको स्रोत अभावलाई मन्त्रालयले वैकल्पिक उपाय अपनाएर समस्या समाधानतर्फ जोड दिनुपर्ने बताउनुहुँदै केयुकेयलले उपत्यकाको खानेपानी व्यवस्थापन र आपूर्तिमा क्रियाशीलता देखाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै उपत्यकामा नयाँ बस्तीको विकाससँगै खानेपानीको समस्याले विकराल रुप लिंदै गएको बताउनुभयो । वर्षामा ठूलो पानी पर्दा मेलम्ची आयोजनामा क्षति पु¥याउने सम्भावना भएको हुँदा पानी पथान्तरणमा रोक लगाएको जानकारी गराउँदै दशैं–तिहार पछाडि पुनः मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने तयारीको लागि मन्त्रालय अगाडि बढिरहेको पनि जानकारी गराउनुभयो । त्यस्तै छलफलमा काठमाडौं र ललितपुर महानगरपालिकाका तर्फबाट उपस्थित प्रतिनिधिहरूले ललितपुरका धेरै क्षेत्रमा मेलम्चीको पाइप बिछ्याउन अझ पनि बाँकी रहेको हुँदा उक्त स्थानहरुमा छिटो पाइप बिछ्याउनु पर्ने, मेलम्ची बाहेक अन्य खानेपानी स्रोतको पहिचान र संरक्षणमा जोड दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै इ. महेश भट्टराईले ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण’ गर्ने विषयमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीको अध्यक्षतामा बोलाइएको उक्त बैठकमा माननीय मन्त्री अनुपस्थित हुनुभएकोले मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा सो बैठक सम्पन्न भएको थियो । कार्यक्रममा केयुकेएलका सीईओ मिलन शाक्य, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, पीआईडीका प्रतिनिधि, मेलम्ची खानेपानी आयोजना, एडीबीका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).