2023-06-23 13:26:32
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएको छ ।
भक्तपुर असार ८ गते शुक्रबार २०८०
भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को नीति तथा कार्यक्रम शक्रवार सर्वसम्मतिले पारित ग¥यो । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको चौधौं नगरसभाको बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।
सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रमको बिषय छलफलमा उठेका जिज्ञासा माथि प्रष्ट पार्दै सभाबाट आएका सुझावहरु नगर र नगरबासीहरुको हितमा रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताउँदै भक्तपुर नगरको सन्तुलित विकास गर्ने उद्देश्यले नगरका १० वटै वडामा समानुपातिक ढंगले बजेट विनियोजन हुन बताउँनुभयो । छलफलमा १० जना सभासद्हरूले आ–आफ्नो धारणा राख्नुभयो । सभासद्हरु मन्जुमैंया लाखा, हेरा ख्याजू, रामसुन्दर बासी, तारादेवी शाक्य, कृष्णसुन्दर प्रजापति, नारायणप्रसाद त्वानाबासु, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, इन्द्रबहादुर प्याथ र गोविन्द दुवालले सहकारी संस्थाको सामुदायिक विकास कोष समुदायको हितमा प्रयोग हुने विश्वास दिलाउनुपर्ने, ख्वप अस्पतालमा सिटी स्क्यानको व्यवस्थाको लागि शीघ्र पहल गर्नुपर्ने, प्लास्टिकको वैकल्पिक व्यवस्था गर्नुपर्ने, व्यायामशालाहरु व्यवस्थित गरिनुपर्ने, स्वयम्सेवक शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषकहरुलाई कम ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने लगायतका धारणा राख्नुभयो ।
नगरसभाको उक्त बैठकले नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) की जीवन संगिनी तथा नेपाल क्रान्तिकारी महिला संघकी तत्कालीन केन्द्रीय सदस्य तथा महिला आन्दोलनकी अगुवा का. शोभा प्रधानको आज असार ८ गते प्रथम वार्षिकी तिथी परेकोले निजको स्मृतिमा १ मिनेट मौन धारण गरी निजको स्मृतिमा हार्दिक समवेदना प्रकट गरेको थियो ।
नगरसभाको अर्को बैठक असार १० गते आइतबार दिनको १ बजे बस्नेगरी सभा स्थगित भयो । सो बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।










0 Comments