हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र २३ गते २०८०
भक्तपुरबाट प्रतिनिधिसभा र बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरुले मध्यपुर थिमि नगरपालिकाको सानोथिमिस्थित बाल सुधार गृह र न्युनतम सुविधा विहिन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम’ युसेप नेपालको स्तरोन्नतीका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।  छलफलमा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निवासका आलिसान महल बनाउने, ७ वटा प्रदेश प्रमुखका लागि ललितपुरको भैंसेपाटीमा अर्वौ खर्चेर महल बनाउने तर युसेप नेपाल र यहाँ सञ्चालित बाल सुधार गृह जस्तो संस्थाहरुको क्षमता बृद्धि, स्तरोन्नतीका लागि योजना नबन्नु दुभाग्र्य भएको बताउनुभयो ।

युसेप नेपालले शुक्रवार आयोजिना गरेको छलफल कार्यक्रममा संघिय र प्रदेशका सांसदहरुले गत भदौ ३ र ४ गते सुधार सुधार गृहमा भएको घटनाबाट पाठ सिकेर अघि बढ्नुपर्ने सुझाव समेत दिनुभयो । सांसद थापाले युसेपसँगै सञ्चालित बाल सुधार गृहलाई थप स्तोरन्नती गर्दै यसको क्षमता बृद्धि गर्नुपर्ने सुझावदिनुभयो । उहाँले गत भदौ ३ र ४ गतेको घटनापनि सुधार गृहको आलोचना धेरै भएको तर यसलाई कसरी सुधार गरेर लैजाने भन्ने बारे कतैबाट पनि समाधान दिन चासो नदिएको बताउँनुभयो । उहाँले ११० जनाको क्षमता भएको सुधार गृहमा करिव ३०० जना राखेर सञ्चालन कसरी व्यवस्थापन गर्यो होला ? कति कठिनाई भयो होला ? भन्ने तर्फ चर्चा छैन भन्दै क्षमता भन्दा धेरै राखियो भनेर प्रचार गरिएको सुनियो ।

लापरवाही भयो भनेर प्रचार गर्ने होईन सुधार गृहमा अझै थप सय जनालाई राख्न सकिने गरी यसको पुर्वाधारको विकास गर्नको लागि सबै क्षेत्रका मानिसहरु लाग्नु पर्यो भनुभयो । छिल्लो पटक सुधार गृहमा आतंक मच्चाउने प्रयास गरिएको बताउँदैं चरणवद्ध रुपमा छलफलका कार्यक्रम सञ्चालन गर्दै भ्रमलाई चिरेर अघि बढ्न समेत सुझाव दिनुभयो । उहाँले सुधार गृहका कमीकजमजोरीको जिम्मा व्यवस्थापनले लिनुपर्ने भन्दै भदौ ४ गतेको घटनाको जिम्मेवारी स्थानीय प्रशासन र सुरक्षा निकायले लिनुपर्ने पनि बताउनुभयो । साँसद थापाले प्रशासनले समयमा घटनाको आंकलन गर्न नसक्दा सुरक्षा संयन्त्र चुकेको टिप्पणी समेत गर्नुभयो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक एवम् सांसद सन्तोष परियारले भदौ ४ गतेको सुधार गृहको घटनाबाट पाठ सिकेर अव सरकारले यसलाई थप सुविधा सम्पन्न बनाईनु पर्नेमा जोड दिनुभयो । उहाँले युसेपद्धारा सञ्चालित व्यवसायिक शिक्षालय र सुधार गृह अलग अलग पाटो हो भन्ने जनताले नबुझेर पनि युसेपमाथि आक्षेप लाग्ने गरेको बताउनुभयो ।
त्यस्तै सांसद रमा कोइराला पौडेलले युसेपले बालबालिकाहरुको भविष्य निर्माणको लागि धेरै ठूलो योगदान गरिरहेको चर्चा गर्दै उहाँले सुधार गृहमा रहेका बालकको मृत्यु हुनुमा कहाँ कमजोरी भयो त्यो पहिचान गरी सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी बागमती प्रदेशसभाका सदस्यहरु सुरेश श्रेष्ठ, भावना श्रेष्ठ र धनेश्वरी प्रजापतिले सुधार गृहको सुधारका लागि आ आफ्नो क्षेत्रबाट आवश्यक पहल र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
छलफलमा युसेप नेपालका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले युसेप नेपालले अहिलेसम्म ६० हजार भन्दा बढी न्यूनतम सुविधा विहिन बालबालिकाहरुलाई सिपमुलक प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गरीसकेको बताउँदै ती मध्ये ९० प्रतिशतलाई रोजगारीको समेत ग्यारेन्टी गरिएको जानकारी दिनुभयो । उहाँले युसेप नेपालले विभिन्न २२ वटा सिपमूलक तालिमहरु निशुल्करुपमा सञ्चालन गर्दै आइरहेको बताउँदै त्यस्मा कार्यक्रम अनुसार केहीमा अति न्यून शुल्क लिने गरिएको पनि बताउनुभयो । सुधार गृहमा रहेका बालकको मृत्यु भएको घटनामा केही कमीजोरी भए त्यसको जिम्मा लिन र जुनुसुकै सजाय भोग्न समेत तयार रहेको बताउँदैं उहाँले जुन अकल्पनीय घटनाको विषयलाई अतिरञ्जित बनाउँदैं भदौ ४ गते अर्को घटना हुनु दुःखद भएको बताउनुभयो । उहाँले सो घटनामा युसेप नेपाल भित्र करिव १५ लाखको क्षति भएको प्रारम्भिक मूल्यांकन भएको पनि छलफलमा जानकारी दिनुभयो ।
मृतक बालकले अघिल्लो साँझ दालको सुप खानुका साथै राती पनि साथीहरुको सहयोगमा पानी पिएको जानकारी दिँदैं बिहान पख अचेत अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि नागरिक अस्पताल लगिएको र त्यही मृत घोषणा गरिएको जानकारी दिनुभयो । सुधार गृहबाट अस्पताल लैजान कागजी र सुरक्षाका केही प्रक्रिया पुरा गर्दा लागेको समय ढिला भयो होला तर उपचारमा लैजान कुनै कमजोरी नभएको बताउँनुुभयो । उहाँले बाहिर चर्चा भएजस्तै सुधार गृहमा अस्वस्थकर खाना खुवाउने, शोषण हुने, सुत्न पालो कुर्नुपर्ने, भन्ने हल्लामा कुनै सत्यता नभएको जिकिर गर्दै यसबारेमा प्रत्यक्ष अवलोकन गर्न सकिने बताउनुभयो । 
छलफलपछि सांसदहरुले युसेप नेपालले सञ्चालन गरिरहेका तालिम र सुधार गृहको अवलोकन निरिक्षण समेत गर्नुभएको थियो । सो अवसरमा सांसदहरुले त्यहाँ तालिममा सहभागी र सुधार गृहमा रहेका बालबालिकाहरुसँग पनि तालिम र सुधारगृहका बारेमा कुराकानी गर्नुभएको थियो । 
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).