हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ २८ गते २०८०
चाँगुनारायण नगरपालिका वडा नं.८ सुडालको जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको जीतपुर गणेश मन्दिरमा भएको साधारण सभाबाट अध्यक्षमा परशुराम पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले एक घर एक धारा अवधारण अनुसार अभियान सम्पन्न नभएसम्म आफू खटेर लाग्ने बताउनुभएको थियो । उहाँले खानेपानी सँगै प्रदूषित पानीको समस्या रहेको बताउँदै प्रदूषित पानीलाई व्यवस्थापन गर्नका लागि सबै मिलेर के कस्तो ब्यवस्था गर्न सकिन्छ भनी हेर्नु पर्ने बताउनुभयो । यस्तै कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष जनक खत्रीले सुडाल वडा कै ठुलो खानेपानी वितरण गर्ने उपभोक्ता समितिका रूपमा रहेको समितिमा आगामी दिनमा आई पर्ने समस्या समाधानका लागि आफू लागी पर्ने बताउनुभयो । उहाँले नयाँ बस्ती विकास सँगै पानीको माग पनि बढ्दो रहेको बताउँदै यसको समाधानका लागि सुडाल भर नै आफू लागि पर्ने पनि बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका सुडाल वडा समितिका सभापति तीर्थराज घोरासाइनी, नेकपा एमालेका प्रतिनिधि राजेश खड्का, नेकपा माओवादीका मदन श्रेष्ठ, नेमकिपाका प्रतिनिधि सन्तराम दुलाल र राप्रपाका प्रतिनिधि लक्ष्मण थापाले खानेपानी समस्या समाधानका लागि आफ्नो पार्टी तथा आफूहरू जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । साधारणसभा कार्यक्रममा खानेपानी समितिमा २०३५ साल देखि २०७८ सम्म योगदान दिनुहुने लोक बहादुर पण्डित क्षेत्रीलाई नगद २५ सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो । भने खानेपानीमा योगदान दिँदै आउनुभएका महेन्द्र प्रसाद घोरासाइनी, उदयबहादुर कार्की, अम्बिका खत्री र महेन्द्र बहादुर खत्रीलाई सम्मान गरिएको थियो । जीतपुर खानेपानी तथा  सरसफाइ उपभोक्ता समिति अन्तर्गत हाल ६३६ घरधुरीले खानेपानी प्राप्त गरी रहेका छन् । यो चाँगुनारायण नगर भित्रको ठुलो खानेपानी वितरण गर्ने समितिमा एक हो । २०३५ साल देखि खानेपानी सहज रूपमा उपलब्ध गराउन प्रयासरत यस समितिले आगामी दिनमा १५ सय भन्दा बढी उपभोक्तालाई खानेपानी कसरी वितरण गर्न सकिन्छ भनी अध्ययन गरी रहेको छ । कार्यक्रममा खानेपानी तथा सरसफाइ समितिको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष प्रेम कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन राम भक्त बानियाँले गर्नुभएको थियो यस्तै स्वागत मन्तव्य कृष्ण प्यारी थापा कार्कीले गर्नुभएको थियो । यस्तै नयाँ कार्यसमितिका उपाध्यक्षमा उमेश कुमार खड्का, सचिवमा राम बहादुर खत्री, कोषाध्यक्षमा राम भक्त बानियाँ सदस्यहरूमा रवीन्द्र भण्डारी, कृष्ण प्यारी थापा कार्की, रोशन तिभिल्सिना, गंगा प्रसाद घोरासाइने , जयराम लामा, ईश्वरी गुरुङ्ग र मदन गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).