2024-08-14 06:44:37
विश्व अंगदान दिवसको अवसरमा स्वास्थ्य मन्त्री प्रदिप पौडेलद्वारा अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्दै लगिने उद्घोष ।
भक्तपुर श्रावण ३० गते २०८१
बुद्धवार भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुद्धवार अगष्ट १३ विश्व अंगदान दिवसको अवसरमा एक कार्यक्रम आयोजना ग¥यो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नुभयो ।
प्रमुख अतिथि पौडेलले अंगदाता परिवारहरुलाई सम्मानपत्र हस्तान्तरण गर्दै भक्तपुरलाई अंग प्रत्यारोपणको केन्द्र बनाई सातवटै प्रदेशमा यसका उपकेन्द्रहरु सञ्चालन गर्ने उद्घोष गर्नुभयो ।
स्रोतसाधन, पूर्वाधार र जनशक्तिबाट स्वास्थ्य क्षेत्रमा अधिक लाभ हासिल गर्न आवश्यक गृहकार्य भइरहेको बताउँदै उहाँले भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्र साँघुरो भएकोले उपयुक्त ठाउँमा स्थानान्तरणको लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवारत सबै चिकित्सक र कर्मचारीप्रति सम्मान प्रकट गर्दै उहाँले अंगदान र अंग प्रत्यायोपनले स्वास्थ्य क्षेत्रमा सामाजिक क्रान्ति ल्याएको बताउँदै स्वास्थ्य बीमालाई रु. १ लाखबाट बढाएर पाँच लाख पु¥याउने योजना हालै सार्वजनिक गरेको पनि जाकारी दिनुभयो ।
भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आफूले पनि अंगदान गर्ने घोषणा गर्दै नेपालमै अंग प्रत्यारोपण गर्ने सुविधाले बिरामीहरुलाई विदेशमा महँगोमा उपचार गर्न जाने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमै अंग प्रत्यारोपणको सुविधा भएसँगै बिरामीहरुलाई विदेशमा गएर ठुलो धनरासी खर्च गरि उपचार गराउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । अंगदानबारे सहज कानुन आवश्यक भएको बताउँदै उहाँले नागरिकहरुलाई अंगदानको लागि प्रोत्साहित गर्न समय समयमा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिनुपर्ने पनि बताउनुभयो । सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउनु आवश्यक रहेको बताउँदै उहाँले सरकारी अस्पतालहरुमा पनि सर्वसुलभ तरिकावबाट डाइलासिसको सेवा उपलब्ध भएमा बिरामीहरुलाई धेरै राहत मिल्ने बताउनुभयो । स्वास्थ्य क्षेत्र जनताको सेवा गर्ने उपयुक्त माध्यम हो भन्दै उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले सञ्चालन गरे धेरै बिरामीहरु यसबाट लाभान्वित हुने बताउनुभयो ।
त्यस्तै प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले प्रादेशिक अस्पतालहरुमा पनि डाइलाइसिस सेवा सञ्चालन गर्न लागिरहेको बताउँदै भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापना भएको १२ वर्ष समयावधिमा करिब १३०० मिर्गौला प्रत्यारोपण र हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न भइसकेको जानकारी गराउनुभयो । अंग प्रत्यारोपण जस्तो संवेदनशील विषयलाई सातै प्रदेशमा विस्तार गर्न सके मात्र नेपाली बिरामीलाई राहत हुने बताउँदै उहाँले नेपालमा हालसम्म मस्तिष्क मृत्युपछि अंगदान गर्ने करिब २६०० जनाले मन्जुरीनामा दिइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रका चिकित्सक डाक्टर कल्पनाकुमारी श्रेष्ठ, अंगदाता दुर्गा ढकाल र अभियन्ता बासुदेव पौडेलले पनि बोल्नुभएको थियो ।










0 Comments