हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

फागुन २३ गते २०८१


भक्तपुरको समाज सुधार माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विद्यालयले प्रकाशन गरेको स्मारिक पनि विमोचन गरेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने उद्योगहरु सञ्चालन गरी नाफा खाने तर नगरपालिकालाई कर नतिर्ने उद्योगहरु अब उपत्यका बाहिर स्थानान्तरणको विकल्प नभएको बताउनुभयो । उहाँले स्थानीय जनताको मागबमोजिम ती उद्योगहरु स्थानान्तरणको लागि नेपाल सरकारसमक्ष पहल गरिरहेको पनि जानकारी दिनुभयो । भक्तपुर औद्योगिक क्षेत्रका केही उद्योगहरुले वर्षौंदेखि कर नतिरेको कारण त्यस्ता उद्योगहरुमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभयो । नगरपालिकाले पटक पटक ताकेता गर्दा पनि केही उद्योगहरुले कर नतिरेपछि ती उद्योगहरुमा तालाबन्दी गरेको बताउँदै उहाँले जनताले ती उद्योगहरु हटाउन पटक पटक माग गरेको सन्दर्भमा भक्तपुर नपाले उक्त कदम चाल्नुपरेको बताउनुभयो । नेपालमा दुईथरिको शिक्षा नीतिको कारण सामुदायिक र निजी क्षेत्रका विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा भिन्नता भए पनि भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा थप वृद्धिका लागि प्रतिस्पर्धाको नीति लिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई पढाईसँगसँगै असल व्यवहार, स्वयम्सेवी भावना, देश र जनताको सेवा गर्ने विचार र इमानदारीपूर्वक काम गर्ने तथा श्रमलाई माया गर्नुपर्ने शिक्षा पनि शिक्षकहरुले दिनुपर्ने बताउनुभयो । शिक्षकहरुले विद्यार्थीहरलाई पढाृउने मात्रै नभई उनीहरुको भविष्यको निर्माण गरिरहेको भन्ने सोचले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
    कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले आजभन्दा चार दशक अगाडिसम्म भक्तपुर शैक्षिक क्षेत्रमा निकै पछाडि रहेको बताउँदै शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतका क्षेत्रहरुमा भक्तपुरले आमूल परिवर्तन गरेको बताउनुभयो । जनताको साथ र सहयोगमा नगरको विकास निर्माण कार्य अगाडि बढेको बताउँदै उहाँले शिक्षकहरुले विद्यार्थीहरुलाई नैतिकवान र देशभक्त नागरिक बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्दै विद्यालयमा न्युन आय भएका अभिभावकहरुका छोराछोरी अध्ययन गरिरहेको जानकारी दिंदै विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिँदै आएको बताउनुभयो । समाज सुधार मावि व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका पूर्व प्रअ लक्ष्मीनारायण दुवाल र संयुक्त परीक्षा समितिका गणेशराम थुसाले पनि बोल्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख प्रजापति र अन्य अतिथिहरुले शिक्षक सम्मान, विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सेवा निवृत्त शिक्षक सम्मान र एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।


 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).